श्रीमतीले नै श्रीमानको खुट्टा किन ढोगेको? वैदिक शास्त्रले यसबारे के भन्छ ?

 65 4267  
  

वैदिक सनातन धर्म मान्यता अनुसार समस्त नारी शक्ति भगवान श्रीकृष्णको शक्ति स्वरूपा राधा अंश भएकोले, स्वयम् भगवान श्रीकृष्णलाई नै प्रणाम गर्दा पनि पुरुषलाई अष्टांग दण्डवत प्रणाम(शरीरका ८ अंगहरूले भूमीमा स्पर्श गरेर गरिने प्रणाम) दिन निर्देशन दिएको छ भने नारीलाई पंचांग दण्डवत प्रणाम(शरीरका ५ अंगहरूले भूमीमा स्पर्श गरेर गरिने प्रणाम) मात्र गर्न निर्देशन दिएको छ। वैदिक सनातन धर्म शास्त्रानुसार सबै नारीहरू पुरुषका लागि “माता” हुन। “माता” को अर्थ हुंछ “जननी”, “मातृशक्ति बोकेकी”,”रक्षा गर्नेवाली”, “पोषण गर्नेवाली” तसर्थ वर्तमानमा पनि वैष्णबहरु सहित धेरै वैदिक सनातन धर्मावलम्बीहरूले समस्त नारीहरूलाई “माता” भनेर नै सम्बोधन गर्ने गरेको पाइन्छ। वैदिक सनातन शास्त्रले यसरी सबै हिन्दुहरुलाई यही परिभाषा तहत के बहिनी, के दिदी, के भाउजु, के छोरी सबै नारीहरूलाई ढोग्न नै निर्देशन दिएको छ। यो त ब्राम्हणहरूले विवाहको समयमा अग्नि सहित विभिन्न देवीदेवताहरूलाई साक्षी राखेर “माता” स्वरूपा नारीलाई यजुर्वेदको पवित्र मन्त्र प्रयोग गरी पतिको अर्धअंग(अर्धाङ्गिनी)मा रूपांतरण गर्छन। अब पतिको आधाअंग(अर्धाङ्गिनी) भैसकेपछि भने वैदिक सनातन धर्म शास्त्रले नारीहरूलाई आफ्नो पतिलाई ढोग गर्न निर्देशन दिएको छ।
तर आजकल आफुलाई आधुनिक र समाज सुधारक बताउँदै केहीले ”पत्नीलाई अंकमाल गर्ने कि ढोग गर्ने”, “मैले त पत्नीलाई ढोग्छु” भनि घोषणा गर्दै वैदिक शास्त्रिय निर्देशन उपर व्यक्तिगत विचार लाद्ने प्रयास गरेको देखिन्छ।
पहिले यो बुझौं, वैदिक सनातन धर्ममा नारी भोग्या नभएर अनन्यताकी प्रतिक अर्धाङ्गिनी हुन भने पुरुष अर्ध अंग, यज्ञमा नारी पत्नी हुन भने पुरुष पति, धर्मकर्ममा नारी सह-धर्मिणी हुन भने पुरुष धर्म हो। स्त्री घरकी मलिक्नी हुन भने पुरुष बाहिरका मालिक हुन। स्त्री र पुरुष मिलेर मात्र सच्चा घर बंदछ अन्यथा त्यो त कुटी मात्र हो। शारीरिक दृष्टिले स्त्री सदा निराश्रया हुन्छे तर हृदयको दृष्टिबाट ऊ नै पिता, पति र पुत्रको पनि आश्रय स्वरुप हुन्छे। स्त्री स्नेहको मुर्ति, प्रेमको अवतार र बात्सल्यको प्रतिमा हो भने पुरुष सहाराको खम्बा, आश्रयको छाता र शक्तिको भुजा हो, स्त्री घरकी रानी हो भने पुरुष घरको राजा हो। नारीको प्रताप कुनै शारीरिक शक्तिले होइन अपितु प्रेम शक्ति, हृदय शक्ति र सेवा शक्तिले भएको हुंछ भने पुरुषको प्रताप त्यो प्रेमारसको भँवर, त्यो हृदयको स्पन्दन र त्यो सेवाको मूलआधार हो । सृष्टिका आदि स्रोत हुन नारी भने पुरुष त्यो स्रोतको स्रोत्य, नारी सृष्टि हुन भने पुरुष सर्जक। सिर्जनामा नारी-पुरुष एकअर्काका पूरक हुन। सृष्टि सिर्जनमा पुरुष अंश बीज रुपमा रहेको छ भने नारी उर्बरा-श्यामला भूको रुपमा रहेकी छ।
यस्तो अन्योन्याश्रित सम्बन्ध बोकेका नारी-पुरुष एक-अर्काविना अपूर्ण छन। एकले अर्कोंको सम्मानबिना यी दुई नासिन्छन तर एकको भाव अर्कोंदेखि पृथक पनि छ। पुरुष बलबाहुमा हूंकार भर्छ, भौतिक स्थूल स्वामित्वमा मख्ख पर्छ भने नारी हृदयको सूक्ष्म स्वामित्वमा रमाउँछिन। यो नारी-पुरुषको गोप्य मनोविज्ञान वैदिक ऋषिमुनिले बुझेका छन। जब एक नारीले आफ्नो पतिको खुट्टा ढोग्छिन, त्यो बलबाहु र भौतिक स्थूल स्वामित्वमा मख्ख पर्ने पुरुष मनोविज्ञानमाथिको यो धावाले त्यो पुरुषत्वलाई यसरी ढक्ढकाउँछ कि त्यो पुरुषले तुरुन्त आफ्नी अर्धाङ्गिनीलाई आफ्नो हृदयको रानी बनाउँछ, आफुले आफ्नी पत्नी उपर कदाचित व्याभिचार पनि गरेको छ भने त्यो क्षण पश्चाताप गर्छ अनि आफ्नो घरको स्वामित्व आफ्नी प्यारी श्रीमतीलाई तुरुन्त सुम्पिन्छ। यसरी अर्ध र अर्धाङ्गिनीको दुई छुट्टाछुट्टै मनोभावको पाङ्ग्रारूपी त्यो घर अघि बढ़दछ।
त्यसमाथि नारीको छाती च्यातेर हेर्दा यो स्पष्ट देखिन्छ, नारीहरुले पुरुषत्वको हूँङ्कार नै मन पराउँछिन, न कि छुईमुईवाला पुरुष। कुनैपनि नारीले, उनलाई उनको पतिले प्रणयरासमा ढोग्ला तर सार्वजनिक रूपमा भालेपन गुमाएको भावमा आफ्नो खुट्टा ढोकेको भने पटक्कै मनपराउदैनिन बरु आफ्नो पति भौतिक रुपमा आफ्नो घरको राजा नै भएको देख्न चाहन्छिन र आफ्नो हृदयको रानी नै बनाओस भन्ने चाहन्छिन। उनी आफ्नो पुरुषलाई भौतिक स्थूल स्वामित्वमा रमाउने मर्दको श्रेणीमै देख्न चाहन्छिन, यही श्रेणीमा राखि भौतिक स्थूल स्वामित्वको अर्थात मर्दाङ्गिको रस नै चखाउन चाहन्छिन अनि खुट्टामा ढोकिदिन्छिन भने यसको प्रतिफलमा यो क्रियाबाट स्थुल स्वामित्वमा रमाएको त्यस पुरुषबाट उनीले उसको हृदयकी रानी, घरकी अप्रत्यक्ष राजाको नै उपमा पाउँछिन।
स्पष्ट रहोस, हरितालिका तीज सहित अन्य हरेक दिन यो ढोग्ने चलनलाई “को ठूलो को सानो”को दृष्टिले नहेरियोस। यो त एक-शरीर स्त्री-पुरुष रूपी त्यो अर्ध-अर्ध अंगको एकल-पूर्णतत्वको सम्बन्ध कसरी सुमधुर होस भन्नको लागि अपनाइएको एक मुहूर्त कला मात्र हो। पुरुषको भौतिक भाले हुन खोज्ने मनोवृत्ति र स्त्रीको आफ्नो पुरुषको हृदयको रानी हुन खोज्ने मनोवृत्ति, दुवै मनोविज्ञानलाई पूर्णता दिन गरिएको मनोवैज्ञानिक विधि हो। गृहस्थाश्रमको सफल सम्बन्धका लागि पुरुष-स्त्री मनोविज्ञान हेरी वैदिक परम्पराले पर्वको रूपमा बोकेको वैज्ञानिक पक्ष मात्र हो।
पूर्वीय संस्कृतिका यस्ता नीति-निर्देशनहरूको कृपा, पतिपत्नीवीचको अक्षुण्ण र सनातन सम्बन्ध घर-घरमा देखिएको छ। पारपाचुके र आत्मालोचनाको घाउमा पिल्सी कुकुरविरालोको सहारामा वृद्धावस्थामा बाँच्ने अनि अर्कातिर टुहुरा वाउविहीन वालवालिकाहरूको परिणिती निम्त्याउने कथित पश्चिमी आधुनिकताको परिचयले आफ्नो मौलिक ऋषिमुनि प्रतिपादित शिद्धांत र मूल्य-मान्यताहरूलाई कृपया नभुलौं।
हरे कृष्ण ….

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद वल्लभ चैतन्य दास

Preacher / Writer
Former News Anchor/Reporter at Nepal Television
Former Engineer at Nepal Electricity Authority
 M.Sc. (Electrical Engineering), Belarussian State Polytechnical Academy
 BSc, (Electrical Power Engineering),  Moscow Power Engineering Institute
MCA,  Sikkiam Manipal IT University