धर्म ८ : धर्म – समाज र जातभात/छुवाछुत

       
  

धर्मको व्यक्ति विशेष देखि समाज हुँदै पूर्ण ब्राम्हाण्डसँग नै एक अर्काको परिपुरकको सम्बध रहेको छ । समाज व्यक्तिहरूको समुदाय भएको र व्यक्तिको त अस्तित्व नै धर्मले बोध गराउने हुँदा यी बिच अनन्योश्रित सम्बन्ध हुनु कुनै नौलो पनि होइन । हामीले पहिल्यै नै प्रष्ट पारिसक्यौँ कि जहाँ धर्मको पालना हुँदैन त्यस्तो ठाउँमा सधैँ नै कलह, अलमल, वेथिति, अशान्ति, दुःख, पीडा, असन्तुष्टि, असन्तुलन, मानषिक, शारीरिक, पारिवारीक, आर्थिक, सामाजिक प्रकारका तनाव आदि व्यापत रहन्छ । को व्यक्तिलाई यस प्रकारका बेथिति बीच रहन मन लाग्ला र? वास्तवमा हरेक व्यक्ति जन्मैदेखि अथवा अस्तित्वमा आउँदा नै धार्मिक गुण वा धार्मिक परिवेश लिएर आएको हुन्छ । ठोस रूपमा निक्र्यौल गर्न नसके पनि हाम्रो सारा कर्म सहगुण, सुख–शान्ति, आनन्द, स्थायीत्व आदि प्रति समर्पित हुने गर्दछन् सधैँ नै । कसैले व्यक्तिगत सुख शान्ति, आनन्द स्थायीत्व खोज्छन् भने कसैले पारिवारिक वा सामाजिक खोज्छन् । सबैको उद्देश्य त यहि नै हुन्छ । यस्तो हुनुमा वास्तविक कारण के हो भने सारा जीव जगतको स्वरूप र धर्म एउटै हुनु नै हो । यस विषयमा हामीले पहिल्यै चर्चा गरिसक्यौँ ।
वास्तवमा वैदिक सनातन शास्त्रहरूले पूर्ण रूपमा व्यवस्थित समाज निर्माणका लागि भनेर विभिन्न व्यवस्थाहरू लागु गरेका छन् । समाजमा उपरोक्त आवश्यकता (शान्ति, सुख, सद्भाव, आनन्द, सन्तुलन आदि) पूर्ति गर्नका लागि भनेर विभिन्न व्यवस्था (वर्णाश्रम व्यवस्था) विभिन्न ग्रन्थ (नीतिशास्त्र, अर्थशास्त्र, स्मृति आदि) रचिएका छन् । वर्ण व्यवस्था सम्बन्धमा कुरा गर्नुपर्दा हाम्रो समाजमा हाल प्रचलित वर्ण व्यवस्था वैदिक व्यवस्था भन्दा प्रतिकुल रहेको पाईन्छ । हो वैदिक शास्त्रले वर्ण व्यवस्था समाज सञ्चालनका लागि अपरिहार्य व्यवस्थाको रूपमा मानेका छन् । तर त्यो व्यवस्था सामथ्र्यका आधारमा निर्धारण गरिने कुरा प्रमाणिक शास्त्रहरूबाट बुझ्न सकिन्छ ।
जन्मना जायते शुद्रः संस्काराद भवेद द्विज ः
वेदे पाठाद भवेद विप्रो ब्रम्ह जानात् इति ब्राम्हण !
जन्मले हरेक व्यक्ति शुद्र नै हुन्छ, संस्कार पश्चात द्विज बन्छ भने वेदाध्यानले विप्र बन्छ अनि जसले ब्रम्ह बुझेको छ त्यसलाई ब्राम्हण भनिन्छ ।
चातुर्वण्र्यंमया सृष्टं गुणकर्मविभागशः। भगवदगीता ४.३
प्राकृतिक गुण एवं ती सँग सम्बन्धित कर्मका अनुसार मानव समाज चार वर्णमा विभाजन गरिएको छ ।
ब्राम्हणक्षत्रीय विशां शुद्राणां त परन्तप ।
कर्माणि प्रविभक्तनि स्वभावप्रभावैर्गुणै ।।१८.४१।।
ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्रहरू प्राकृतिक गुण र तिनका आफ्नै स्वभावाबाट उत्पन्न गुण द्वारा विभाजित छन् ।
स्वाध्यायेन व्रतैर्होमैस्त्रैविद्येनेज्यया सुतैः ।
महायज्ञैश्च यज्ञैश्च ब्राह्मीयं क्रियते तनुः ॥ २.२८ ॥
पठन–पाठन गर्नाले , ब्रह्मचर्य , अनुशासन , सत्यभाषण आदि व्रतहरुको पालनले , परोपकार आदि सत्कर्महरु गर्नाले , वेद , विज्ञान आदि पढ्नाले , कर्तव्यको पालन गर्नाले , दान गर्नाले र आदर्शहरु प्रति समर्पित रहनाले मनुष्यको यो शरीर ब्राह्मणको शरीर बन्दछ । –मनुस्मृति २।२८
शमो दमस्तप ः शौचं क्षान्तिरार्जवमेव च
ज्ञानं विज्ञानमास्तिक्यं ब्रम्हकर्म स्वभावजम् ।।४२।।
शान्तिमयता, आत्मसंयम, तपस्या, पवित्रता, सहनशिलता, इमान्दारिता, ज्ञान, विज्ञान र धार्मिकता यी ब्राम्हणका स्वभाविक गुण हुन् ।
शैर्य तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यचलायनम् ।
दानमिश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।।
वीरता, शक्ति, संकल्प, उद्यमशिलता, युद्धमा उत्साहा, उदारता, नेतृत्व यी क्षेत्रीय कर्मका स्वभाविक गुण हुन् ।
कृषि गोरक्षावाणिज्यं वैश्यकर्म स्वभावजम्
परिचर्यात्मकं कर्म शुद्रस्यापि स्वभावजम् ।।४४।।
कृषि, गाईवस्तुपालन, व्यापार सेवा मूलक व्यवसाय र शारीरिक श्रम (परिचर्य मूलक कर्म) शुद्रको स्वभाविक कर्म हो ।
यस सम्बन्धमा श्रीमद्भागवतको सप्तम स्कन्धको ११ र १२ औँ अध्यायमा पनि विस्तृत वर्णन गर्दै अन्तमा नारद मुनि भन्छन् ।
“यस्य यल्लक्षणं प्रोक्तं पुंसो वर्णभिव्यञ्जकम् ।
यदन्यत्रापि दृष्येत तत् तेनैव विनिर्दिशेत् ।।”
अर्थात् प्राणीको वर्ण चिनिने जो लक्षणहरू माथि बताइए ती लक्षण अन्य वर्णवालामा भेटिए भने त्यसलाई पनि सोही लक्षण अनुसारको वर्ण हो भनि मान्नुपर्दछ ।
त्यसैगरी भगवानमा सृष्टि काल वर्णन तथा वंश विस्तारमा स्पष्ट रूपमा कर्दम देवहुति विवाह प्रसँग वा दक्ष पुत्रीहरूको ऋषिहरूसँगको विवाह प्रसँगले के बुझ्न सकिन्छ भने सृष्टिको आदिकालमा सारा वर्णको स्रोत एकै नै हो । यसर्थ जन्मका आधारमा केवल वर्ण व्यवस्था कायम गरिएको थियो भने संसारमा एकै वर्ण मात्र अस्तित्वमा हुने थियो, जसमा मानव मात्र नभएर सारा जीव जगतको नै घरपटि ब्राम्हण (सप्तर्षि) र मावलीपटि क्षत्रिय (मनु) भएको कुुरा शास्त्रोक्त छदैछ । थप यसै प्रसंगमा भागवतमा विभिन्न चन्द्र वंशिय वा सूर्य वंशिय राजाहरू बाट ब्राम्हण, वैश्य आदिको गोत्र सुरु भएको विषय पनि उल्लेख पाइन्छ ।
साथै यसै विषयमा भविष्य पुराणमा प्रतिसर्ग पर्वको २१ औँ अध्यायमा
सपत्निकांश्च तान्म्लेच्छाञ्छुद्रवर्णाय चाकरोत् ।।१६।।
सरस्वतीले पत्नि समेत ती म्लेच्छेदलाई शुद्र बनाउन भयो ।
वारुवृत्तिकरास्र्वे वसुर्वहुपुत्रका ः ।
द्विसहस्रास्तदा तेषां मध्ये वैश्या बभुविरे ।।१७।।
ती म्लेच्छहरुले शिल्पवृत्ति अपनाएर जीवन व्यतित गर्न आरम्भ गरे, तीबाट २ हजार म्लेच्छे बैश्य भए ।
तन्मध्ये चाचार्यपृथुर्नाम्ना कश्यप सेवक ः
तपसा प्रसान्नो दशांन्दं महामुनिमम् ।
तदा प्रसन्नो भगजन्कण्धो दृवाराद्वारा ।
ती म्लेच्छे मध्य आचार्य कश्यपको सेवक पृथुलाई वरदान पूर्वक राजपुत्र नामक पुरको राजा बनाइ दिनुभयो जसबाट क्षेत्रीय वंश सुरु भयो ।
श्रीमद् भागवतको नवम स्कन्धमा मनु वंशको वर्णनमा यथेष्ट रूपमा क्षेत्रीय वंशका राजा बाट व्राम्हण वंश सुरु भएको प्रसँग पढ्न सकिन्छ । उदाहरणका लागि “ततो व्रम्हकुलं जातमारिन वंशयायनं नृपा” (अग्निवेश्यबाट अग्निवेश्यायन नामक ब्राम्हण वंशको उत्पत्ति भयो) “तपसा क्षत्रमृतसृज्य यो लेमे व्रम्हवर्चसम्” (तपस्याका प्रभावले क्षत्रित्वलाई त्यागेर ब्रम्हतेज प्राप्त गर्नुभयो) “तस्य क्षेते व्रम्ह जज्ञे श्रृणु वंशमनेनसः ।। ” (यस क्षेत्रीय वंशबाट अंकिय पश्चात ब्राम्हण सन्तानहरू उत्पत्ति भए) आदिलाई मान्न सकिन्छ ।
जन्मको आधारमा केवल जातिवाद, वर्णाश्रम वा उच निचको प्रावधान वैदिक ग्रन्थ साथसाथै वैदिक सनातन धर्मका महान् आचार्यहरूले पनि अस्विकार गर्नु भएको छ । उदाहरण स्वरूप जगतगुरु श्रीपाद रामानुजाचार्यसँगको प्रसँग लिन सक्छौँ । रामानुजाचार्य ज्यूका गुरु काञ्चीपूर्ण जोसँग शास्त्रको व्याख्या सम्बन्धमा केही उल्झन हुँदा सल्लाह सुझावका लागि जाने गर्नुहुन्थ्यो उहाँ जन्मले शुद्र वंशको हुनुहुन्थ्यो । एकपटक आफ्ना गुरु काञ्चीपूर्णलाई रामानुजस्वामी जीले प्रसादकालागि घरमा आमन्त्रित गर्दा रक्षाम्वाले काञ्चीपूर्ण स्वामी जीलाई शुद्रमति गरी उहाँको उच्छिष्ट प्रसाद अन्य कामदारलाई बाँडिदिइन् । यसबाट आफ्ना गुरुको प्रसाद ग्रहण गर्न नपाएकोले आफ्नी पत्नीप्रति रामानुजाचार्य औधिनै असन्तुष्ट हुनुभयो । यसैगरी महापूर्ण स्वामिजीको पत्निसँग पनि जाताभिमानका कारण रक्षाम्वाले कुवामा झगडा गरेपछि आफ्नी पत्नीलाई त्यागि सन्यास लिनुभएको प्रसँग सान्दर्भिक हुन्छ । साथै श्री प्रपन्नामृतमा रामानुजाचार्य उपदेश दिनुहुन्छ “वैष्णवो वर्णषह्योेरपी पुनाति भुवनत्रयम्” (भगवान श्री हरिका भक्त वर्ण व्यवस्था भन्दा माथि हुन्छन तथापी तीनै लोकलाई पवित्र तुल्याउँछन् ।) साथै ७२ वाक्यमा पनि वैष्णवको जातबुद्दि नगर्नु भनि उपदेष गर्नुहुन्छ ।
मनु स्मृतीमा वर्ण परिवर्तन सम्बन्धमा यस प्रकार वताइएको छ ।
शूद्रो ब्राह्मणतामेति ब्राह्मणश्चैति शूद्रताम् ।
क्षत्रियाज् जातमेवं तु विद्याद् वैश्यात् तथैव च ॥ १०.६५ ॥
शुद्र ब्राम्हण बन्न सक्छ र ब्राम्हण शुद्र बन्न सक्छ । सोहि नियम क्षत्रिय र वैश्यमा पनि लागु हुन्छ ।
उत्तमानुत्तमानेव गच्छन् हीनांस्तु वर्जयन् ।
ब्राह्मणः श्रेष्ठतामेति प्रत्यवायेन शूद्रताम् ॥ २४५ ॥
वर्णस्थ व्यक्ति श्रेष्ठ अतिश्रेष्ठ व्यक्तिहरुको सँग गर्दै र नीच नीचतर व्यक्तिहरुको सँग छोडेर अधिक श्रेष्ठ बन्दछ । यसको विपरीत आचरणले ऊ पतित भएर शुद्र बन्दछ । –मनुस्मृति ४।२४५
योऽनधीत्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् ।
स जीवन्नेव शूद्रत्वमाशु गच्छति सान्वयः ॥ १६८ ॥
जो ब्राह्मण , क्षत्रिय या वैश्य वेदको अध्ययनर र पालनलाई छोडेर अन्य विषयहरुमा परिश्रम गर्दछन् , उनीहरु शुद्र बन्दछन् । –मनुस्मृति २।१६८

पद्म पुराण्डमा “अच्र्ये विष्णौ शिलाधीगर्ररुषु नरमतिर्वेक्ष्णवे जातिविद्धि” (मन्दिर स्थित आर्च विग्रहलाई शीला वा काठ मान्नु, गुरुलाई सामान्य मानिस सरह बुद्धि गर्नु र विष्णुभक्तलाई कुनै विशेष जात वा नस्लको मान्नु हुँदैन) भनि स्पष्ट बताइएको छ ।
भगवान् श्री चैतन्य महाप्रभुले चैतन्य चरितामृत ३.४.६६ मा जातिवाद सम्बन्धमा यस प्रकार भन्नु भएको छ ः
निच जाति नहे कृष्ण–भजने अयोग्य
सत्, कुल, विप्र नहे भज्नेर योग्य ।।
न त कोही निम्न कुल वा जातीमा जन्मेर कृष्ण भजनका लागि अयोग्य हुन्छ न कोही श्रेष्ठ कुलमा जन्मेर नै भजनका लागि योग्य हुन्छ ।
वैदिक शास्त्रमा वर्ण परिवर्तनका अनेक उदाहरणहरु देख्न सक्छौँ । जस्तै ऋगवेदिय ऐतरेय ब्रम्हण र ऐतरेर उपनिषद का रचनाकार ऐतरेय ऋषि शुद्र पुत्र थिय । दासीपुत्र ऐलुष आचरण सुधार्दै ऋगवेदको अध्यनमा लागेपछि ऋषिहरुले आचार्यपदमा आसिन गरे । (ऐतरेय ब्राम्हण २.१९) सत्यकाम जाबाल वेश्या पुत्र थिय । दक्षपुत्र पृषध क्षेत्रिय बाट शुद्र भए । (विष्णु पुराण ४.१.१४) राजा नेष्दिटका छोरा नाभाग वैश्य भए । पुन यिनका केहि छोराहरुले क्षत्रिय बृत्ति अपनाय । (विष्णु पुराण ४.१.१३) क्षत्रिय पुत्र धृष्ट ब्राम्हण भय भने उनका पुत्रले पुन क्षत्रिय वर्ण अपनाय । यहि वंशमा पछि पुन ब्राम्हणहरु पनि भय । भागवत अनुसार अग्निवेश्य, हारित तथा रथोतर पनि क्षत्रियबाट ब्राम्हण भएका हुन् । मातगं त चांडालपुत्र बाट ब्राम्हण भयका हुन् । क्षत्रियकुल शौनकले पनि ब्राम्हणत्व कर्मले प्राप्त गरेकाहुन् । वायु, विष्णु र हरिवंश पुराणानुसार शौनकका सन्तान कर्मभेदानुसार ब्राम्हण, क्षत्रिय, वैश्य तथा शुद्र वर्णका भए । आदि ।
वैदिक वर्ण व्यवस्था सम्बन्धमा थप बुझ्नका लागि श्रीमद्भागवत वा गीतोपनिषद आदि ग्रन्थको अध्ययन श्रेयष्कर हुन्छ । उपरोक्त यावत उदाहरणबाट हाल प्रचलनमा रहेको जातिवाद वैदिक वर्ण व्यवस्था हैन भन्ने कुरा स्पष्ट हुन्छ । यो वर्ण व्यवस्थाको उद्देश्यका रूपमा विष्णु पुराणमा “वर्णाश्रमाचारवताम……।।” (वर्णश्रम प्रणालीको सार, नियम कर्तव्य उचित रीतिले सम्पन्न गरी भगवान विष्णुलाई तुष्ट गर्नु हो ।) भनि व्याख्या गरिएको छ ।
समाजलाई पुराण उपनिषद् आदि वैदिक शास्त्रहरुले शरिर सँग तुलना गरेका छन् । सोचविचार गर्ने, निर्देशन दिने, बुद्धि विबेकको प्रयोग द्धारा सारा शरिरको संचालन गर्ने जिम्मा टाउकोको हुनेगर्दछ जो ब्राम्हण वर्ग हुन् । शरिरको पालनपोषण तथा सुरक्षाको जिम्मेवारी भुजा हरुको हुने गर्दछ, जसलाई शास्त्रिय स्रोतले क्षत्रिय सँग तुलना गरेको छ । त्यसैगरि हामिलाई कर्म तर्फ डोर्याउने पेट लाई वैश्य तथा सारा शरिरको भार वाहक खूट्टालाई शुद्र सँग तुलना गरिएको छ। अब शरिरको हरेक अंगको महत्व र आवश्यकता शरिर संचालनमा उत्तिकै नै हुने गर्दछ । शरिरका सबै अंगले ठिकठाक आ आफ्नो काम गरे भने नै सारा शरिरको तुष्टि र पुष्टि हुन्छ ।

यस प्रकारले सवै व्यक्तिहरू आफ्नो स्वभाविक प्राकृतिक गुण अनुरूपले निर्धारित वर्ण अनुकुलको कर्म गर्न थाले भने व्यक्तिगत मानसिक र शारीरिक सन्तुष्टि र आनन्द त स्वतः नै प्राप्त भइहाल्छ । जसलाई जे वस्तुमा आनन्द मिल्छ, जुन प्रकृतिको कार्य उसको स्वभाविक गुण हो त्यही कार्य यदि वृत्ति नै बन्यो भने सन्तुष्टि स्वतः प्राप्त भई हाल्छ । त्यसैगरी जब सबै जना चुतुः वर्णश्रम व्यवस्था अनुकुल कार्य गर्छन् र सबै वर्णाश्रमको उद्देश्य एउटै भगवान्लाई रिझाउनु भएपछि समाजमा स्वतः शान्ति एकता र भाइचारा स्थापना हुन्छ । उदाहरणका लागि फुटवल खेल्ने क्रममा सबै खेलाडीहरूको उद्देश्य प्रतिद्वन्दीको पोष्ट हुने गर्दछ । त्यसै कारणले सवै खेलाडीबीच समान उद्देश्यका लागि एकता र भाइचार हुने गर्दछ । यसै गरी यदि सम्पूर्ण वर्णश्रम व्यवस्था अनुकुलको कर्तव्य पालन गरी वर्णश्रम कै उद्देश्य अनुरूप कार्य गर्न थाले भने आदर्श समाज र राष्ट्रको परिकल्पना सिद्ध हुने कुराको उदाहरण हामी वैदिक शास्त्रहरू मै पाउन सक्छौँ । किनभने वैदिक वर्ण व्यवस्था र राज्य व्यवस्थामा स्वकर्मको पालन गरी पूर्ण रूपमा आत्म निर्भर हुनुलाई अर्थव्यवस्थाको कडी मानिन्छ । वास्तवमा भन्नुपर्दा कृषि, गोपालन, वाणिज्यलाई अर्थव्यवस्थाको आधार मानि उच्च त्याग, नैतिकता, समझदारिता, स्वध्याय र भाइचाराले युक्त वैदिक वर्ण व्यवस्था अनुकुलको आचरण गर्दै सादा जीवन बाँची सदैब आध्यात्मिक विचार राख्ने व्यवस्था नै वैदिक धार्मिक सामाजिक व्यवस्था हो ।

तर हाल समाजमा वैदिक सनातन धर्मका नाममा बिभिन्न पाखण्डमत जस्तै कुनै शास्त्रीय प्रमाण बिना स्वयंलाई भगवान घोषणा गर्ने, कुनै प्रमाणिक परम्परामा दीक्षित नभै आफ्नो मन अनुकुल चल्ने, केवल लौकिक वा आर्थिक उद्देश्यकालागि भागवतको आयोजना गर्ने, वेदको आफू अनुकुल व्याख्या गर्ने, आफूलाई वैदिक धर्मावलम्बी बताउने तर यज्ञ, तुलसी, गाई, वर्णव्यवस्था नमान्ने, दया, सत्यता, इन्द्रिय निग्रह, पवित्रता, विनम्रता लगायतका सद्गुण त्यागी मिथ्या अहंकारको पोषण गर्ने अनि स्वयंलाई सर्वेसर्वा घोषणा गर्ने, ज्ञान र वैराग्यका आधारमा नभै धन र भोगका आधारमा साधुताको निर्णय गर्ने, देवी देवताका तथा चाड पर्वका नाममा धुम्रपान, मद्यपान लगाएतका नशाको सेवन गर्ने, हत्या हिंसा गर्ने आदि जस्ता कुरीतिले प्रश्रय पाई धर्म नै समूल रुपमा खतरामा पर्दैछ । वैदिक व्यवस्थाको स्थापना हेतु यस्ता पाखण्डि तथा कुलंघारहरुको शास्त्रीय आधारमै भण्डाफोर गरी सामाजिक रुपमा बहिस्कार गर्नु नितान्त आवश्यक छ । यी यावत अवैदिक कुसँस्कारका कारण हाम्रो वैदिक सामाजिक व्यवस्थामा आँच आउदैछ, अन्यथा वर्तमान समाजमा पनि चाहे धर्ममा अफिम देख्नेहरू हुन् वा चाहे धर्म निरपेक्ष भन्नेहरू हुन् अथवा धर्मको मूल्यमा भोट किन्नेहरू हुन् सबैले आदर्श राज्यको कल्पना गर्दा वैदिक व्यवस्थाको राम राज्यै कै कल्पना गर्न रुचाउनुले पनि वैदिक धर्मसँग जोडिएको राज्य व्यवस्था मात्र परिपूर्ण हुन सक्छ भन्ने कुरा सिद्ध हुन्छ ।
वैदिक राज्य व्यवस्था कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा इच्छुक पाठकहरूले मनुस्मृति, विदुर नीति, चाणक्य नीति, अर्थशास्त्र, श्रीभद्भागवत, रामायण, महाभारत, धौम्य नीति आदिको अध्ययन गर्नुपर्ने हुन्छ, किनभने यो ग्रन्थको उद्देश्य वैदिक राज्य व्यवस्था सम्बन्धमा बुझाउन नभै वैदिक धर्म र वर्णाश्रम व्यवस्थाको विषयमा बुझाउनु हो ।

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store