हाम्रो वास्तविक परिचय (सारा जीव जगतको) आत्मा हो भन्ने कुरा त सिद्ध भै नै सक्यो । उसो भए यो आत्माको धर्म के हो ? सारा जीव जगत नै यही आत्मा हो, यसको परिचय एउटै छ भने यसको धर्म पनि समान नै हुन प¥यो । त्यस्तो स्वरूप द्रष्टाउने अथवा बिमुख हुँदा स्वरूप भूत अवस्था वा अस्तित्व नै लोप हुने धर्म सबै जीव जगतमा समान के छ त ?
आत्माको स्वरूप भूत अवस्था सम्बन्धमा गितोपनिषद्मा स्पष्टरूपले “मामैवांशो जीवलोके जीवभूतः सनातन” (१५.७) व्याख्या गरिएको छ । भगवान् श्री कृष्ण यस जगतका सबै जीवहरू मेरै शाश्वत अंश छन् भनि भन्नु हुन्छ । यहाँ जीवात्मालाई इश्वरको अंश मात्र भनिएको छैन बल्की ‘सनातन’ भनेर पनि सम्बोधन गरिएको छ । अर्थात् जीव सनातन छ । श्रीमद्भागवद गीताको द्वितीय अध्यायको १३ देखि २९ औँ श्लोकसम्म यस विषयको विषद् व्याख्या गरिएको छ । जो सम्पूर्ण व्याख्या यहाँ गर्न सम्भव छैन । सार संक्षेप रूपमा भन्नुपर्दा ‘देहिनोस्मिन यथा देहे’ जस्ता श्लोकले परिवर्तनीय शरीर र आत्माको भिन्नता बोध गराउँछन् भने “नासतो विद्यते भावो र अविनाशि तु तद्विद्वि” आदि श्लोकले जीवआत्माको शाश्वतताको विषय प्रकाश पार्दछन् । “य एनं वेत्ति हन्तारं, न जायते म्रियते वा कदाचिन्, वेदविनाशिन नित्यं” आदि श्लोकले आत्माको अविनाशिपन तथा नित्यता प्रमाणित गर्दछन् । यस प्रकारले जीवको स्वरूप ईश्वरको अंश तथा अविनाशी भएको कुरा निश्चय भएको छ । (आत्मा तत्व सम्बन्धमा थप प्रष्टिकरणका लागि भक्तिवेदान्त वुक द«ष्टद्वारा प्रकाशित अन्तराष्ट्रिय कृष्ण भावनामृत संघका संस्थापकाचार्य श्री श्रीमद् ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपादको सरल भाषा टिका युक्त श्रीमद्भगवद् गीता यथारूप सर्वोत्कृष्ट पुस्तकको श्रेणीमा पर्दछ ।) अंशको पूर्णता अथवा सार्थकता अंशिको सेवामा नै छ । वेदान्त सूत्र (२.३.४३० मा पनि जीव अंश भएको र (३.२.३८ देखि ४१ सम्म) जीव दास वा सेवक भएको कुराको प्रमाण पाइन्छ । साथै श्री चैतन्य चरितामृत मध्य लिला २०.१०८ मा भगवान् श्री चैतन्य देव स्वयं ‘जीवरे स्वरूप हय कृष्णेर नित्यदास कृष्णेर तटस्थाशक्ती भेवाभेद–प्रकाश’ भनि जीवको स्वरूप नित्य दासहुनु नै वैधानिक स्थिति भएको कुरा प्रमाणित गर्नुहुन्छ । यसै सम्बन्धमा श्रीपाद मध्वचार्यले पनि जीवको सेवकको स्वरूपभूत अवस्था निम्न प्रकारले दर्साउनु भएको छ ।
विष्णोभृत्योक्हमित्येव सदा भगवन्मय ः
नैवाहं विष्णुरस्मीति विष्णु ः सर्वेश्वरो ह्यज ः ।।
यस प्रकार उपरोक्त उक्तिहरूबाट हामी जीवको स्वरूप सेवकको भएको कुरा प्रष्ट रूपमा थाहा पाउन सक्छौँ । किनभने सामान्य अवस्थामा हेर्दा पनि हामीले के देख्न सक्छौँ भने सृष्टिको कुनै पनि जीव सेवा नगरिकन अस्तित्वमा रहनै सक्दैन । हरेक जीवले सेवा गर्नै पर्दछ । चाहे राष्ट्रको होस् वा समाजको होस्, या त परिवारको, माता–पिताको वा सन्तान आदिको अथवा इन्द्रिय स्वयंको मानव समाजदेखि पशु, चरा चुरुङ्गी किट, फट्याङ्ग्रा हुँदै वृक्षसम्म कसै न कसै गरी कसैको प्रयोगमा त आउनैपर्दछ । यसप्रकार व्यवहारिक र शास्त्रिय प्रमाण दुवैको ठोस आधारमा जीवबाट सेवा गर्ने गुण छुट्याउन नसकिने कुराको निष्कर्षमा पुग्न सकिन्छ । सारा जीव समाजको समान अस्तित्व प्रमाणित गर्ने यो स्वभाविक सनातन गुण नै जीवको वास्तविक धर्म हो । सनातन गुण भएका कारणले यस धर्मलाई सनातन धर्म पनि भनिन्छ । जीवको स्वरूपभूत विषय भएकाले जैव धर्म पनि भनिन्छ भने भागवतले निरूपण गरेका कारण भागवत धर्म पनि भनिन्छ । यस नित्य सनातन धर्म बाहेक देह (शरीरको) आधारमा पनि विविध नियम कर्तव्य आदिको निरूपण गरिएको छ । जीव एकै परमेश्वरको अंश हुँदाहुँदै पनि शरीरको सम्बन्धबाट पुन विधि एवं निषेधको भिन्न भिन्न शास्त्रीय आदेश पाइन्छ । जसलाई वैदिक स्रोतहरूले देहिक धर्मको रुपमा ब्याख्या गरेका छन् । यस सम्बन्धमा ब्रम्हसुत्र २.३.४८ मा “अनुज्ञापरिहारौ देहसम्बन्धाज्जयोतिरादिवत्” सूत्रले निरूपण गर्दछ ।
सनातन धर्म वा जैव धर्मको सम्बन्धमा व्याख्या गर्नु अगाडि देहिक धर्म अथवा देश, काल, परिस्थिती तथा शरिर अनुसारको धर्मको चर्चा गर्नाले भागवत धर्म (वैदिक सनातन धर्म) बुझ्न अझ सहज हुने कुरालाई हेक्का गरी पहिले देहिक धर्म के हो भन्ने कुराको चर्चा तर्फ विषय मोड्न उचित हुन्छ ।
सारा शरीरधारी जीव जगतको वास्तविक परिचय र स्वरूप एकैनाशको एउटै हुँदाहुँदै पनि शरीर र शारीरिक कार्य प्रणाली फरक फरक रहेको छ । प्रारब्ध कर्म र त्यसको फलको रूपमा सफलिभूत यस शरीर मानव योनी, पशु योनी, वृक्ष योनी, जलचर, थलचर आदिको रूपमा विभक्त रहेको छ । यस प्रकार विभक्त रहँदा रहँदै पनि साधारणतया सम्पूर्ण जीव जगतले गर्ने कार्य करिव एकै प्रकारको रहेको छ । हितोपदेशमा यस सम्बन्धमा थप प्रष्ट पार्दै भनिएको छ ः
आहार निद्रा भय मैथुनं च
सामान्य मेतत् पशुभि ः नराणाम् ।
मुनष्य र पशुहरूमा आहार (खानपिन) निद्रा, भय र मैथुन क्रिया यो चारथोक समान छ । अर्थात् यी चार वस्तु वा क्रियाकलाप पशु र मान्छेले समान रूपमा गर्दै आइरहेका छन्, हामीले गर्ने सारा कर्महरू केवल यी चार कुराहरूको वरिपरि घुमेका हुन्छन् । यस हिसाबले हेर्दा हामी र पशुमा कुनै भिन्नता देखिन्न तर पनि देहिक र बौद्धिक भिन्नता भएको कुरा सर्वविर्दितै छ । हामी विवेकशील छौँ । यदि विवेकशील छौँ र देहिक रूपमा पनि हामी पशु हैनौँ भने यो विवेक र यो देहको पनि केही त उद्देश्य हुनुपर्छ । जसरी बाघको देहिक धर्म शिकार गरी भोजन गर्नु हो भने गाईको देहिक धर्म घाँस खाई दुध प्रदान गर्नु हो त्यसै गरी मानव शरीर प्राप्त गरेका जीवहरूको पनि खान–पिउन, सुत्न–स्वरक्षा गर्ने अनि मैथुन क्रिया गर्न वाहेक देहिक धर्म पनि हुन्छ । अन्य देह प्राप्त गरेका पशु पन्क्षी वा वृक्ष आदि सीमित विवेकको प्रयोग गरिकन अथवा स्वतः स्फूर्त जति मात्रामा प्रवृत्तिले दिएको छ केवल त्यति नै मात्रामा आफ्नो देहिक तथा सनातन धर्मको पालना गर्दछन् तर मनुष्य शरीरमा विवेकको विकास पूर्ण भएको हुने हुनाले यस देहको वास्तविक देहीक धर्म पनि सनातन धर्मको उत्कृष्ट अवस्था प्राप्त गर्न यो मन, बुद्धि, शरीर, वचन, कर्म सबैलाई संलग्न गराउनु हो । सनातन धर्मको उत्कृष्ट वा उच्च अवस्थाको वर्णन धर्मको सार अध्यायमा विस्तृत रूपमा गरिने छ । अव यो शरीर (मानव शरीरको) धर्म सम्बन्धमा भन्नुपर्दा मानव देहको धर्म चार आधारभूत स्तम्भमा खडा भएको कुरा वैदिक सनातन शास्त्रहरूले बताएका छन् । यी स्तम्भहरूको व्याख्या नगरिकन मानव जातिले पालन गर्नुपर्ने धर्मको सम्बन्धमा बुझ्न सकिन्न । श्रीमद्भागवत् महापुराण (१.१६.२४) र (१२.३.१८) मा मानवले पालन गर्नुपर्ने चार धर्मका आधार स्तम्भहरूको बारेमा यस प्रकारले वर्णन गरिएको छ ।
“सत्यं दया तपो दानमिति पादा विभोर्नृप (१२.३.१८)
तप ः शौचं दया सत्यमिति पादाः कृते कृताः(१ः१६.२४)”
धर्मका चार पाउ अथवा आधार स्तम्भहरू दया, सत्यता, तपस्या र पवित्रता छन् भने सेही अध्यायको ३८ औँ श्लोकमा राजा परिक्षितले अधर्मरुपि कलिलाई जुवा तास, नशा, हिंसा (मांसाहार) र वेश्यावृत्तिमा बस्ने अधिकार दिनु भएको प्रसँग देख्न सकिन्छ ।
“अभ्यर्थितस्तदा तस्मै स्थानानि कलये ददौ
द्युतं पानं स्त्रियः सुना यत्राधर्मश्र्चतुर्विध ः”
कलिको प्रार्थना सुनेर राजा परिक्षितले कलिलाई जुवा तासको स्थानमा, नशाजन्य पदार्थको सेवन, वेश्यावृत्तिमा र पशुहिसां हुने स्थानमा बस्ने आदेश दिनुभयो ।
यस प्रकार के बुझ्न सकिन्छ भने दया, सत्यता, पवित्रता र तपस्या यी चार धर्मका आधार हुन् र यी आधार तयार गर्नका लागि सत्यताका लागि जुवातास त्याग्नु पर्ने हुन्छ । दयाका लागि मांसाहार त्याग्नु पर्ने हुन्छ । तपस्याका लागि नशा त्याग्नु पर्छ भने शुद्धताका लागि वेश्यावृत्ति आदि त्याग्नु पर्ने हुन्छ । कतै–कतै मांसाहारलाई हाम्रो धर्म परम्परा, यहाँसम्म कि वेदसँग जोडेर बुझ्ने गरिन्छ । तर वैदिक शास्त्र, इतिहास, पुराण, स्मृति तथा श्रुतिको मत यस भन्दा भिन्न छ । “मा हिंस्यात सर्व भूतानी” आदि उक्तिले हिंसा वर्जित गरेका छन् । “अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी संस्कर्ता चोहपर्ता च खादकश्चेति घातका” (मन स्मृति ४.१६०)
यस प्रकार मांसाहारका लागि सहमति दिने, काट्ने, मार्ने, किन्ने, बेच्ने, ल्याउने, पकाउने र खाने यी सवै समान रूपका घातिहरू हुन् भनि बताइएको छ ।
वैदिक साहित्यमा स्पष्ट रूपमा देवता, पितृ र मनुष्यहरूका लागि भगवान श्री हरिको (विराट पुरुषको) जिब्रोबाट हव्य, कव्य, अन्न र षड्रस उत्पत्ति भएको कुरा यस प्रकार व्याख्या गरिएको छ ।
हव्यकाव्यामृतन्नानं जिह्वा सर्व रसस्य च । २.६.१
यस प्रकार मानिसको अधिकार वा मानिसको भोगका लागि भनेर अन्न, फल आदि उत्पन्न भएको कुरा वैदिक शास्त्रमा स्पष्ट निर्देशन पाईन्छ ।
सामान्यतया ः पनि विचार गर्दा दया धर्मको आधार हो भने जसले हिंसा गरी अन्य जीवको मासु खान्छ त्यस्तो व्यक्तिमा दया कसरी हुन सक्छ? धर्मको स्वभाविक गुण भनेको नै शान्ति, खुशी, सुख, आनन्द आदि हो तर जवसम्म पीडा, हिंसा, आंतक, अशक्ति आदिलाई हामीले आफ्नो भोजन बनाउँछौँ तवसम्म धर्मका यी स्वभाविक गुण हामीले कसरी प्राप्त गर्न सक्छौँ । हितोदेशमा थप बताइएको छ ः
धर्मो हि तेषाम् अधिको विशेषो
धर्मेण हिनाः पशुभिः समानाः ।।
मनुष्यको विशेषता भनेको नै अध्यात्मिक जीवनको आधारभूत नियम पालन गर्न सक्नु हो । यदि नियम पालन गरिन्न भने मानिसको जीवन पनि पशुतुल्य छ ।
सनातन धर्मको व्याख्या अगाडि देहिक धर्मको पालन गर्नु, यस सम्बन्धमा जान्नु बुझ्नु औधि नै आवश्यक छ किनभने वैदिक सनातन धर्मको सफलता केवल मानव योनीमामात्र सहज उपलब्ध छ र यदि देहिक धर्मको ठिक ठाक पालन गरेनौँ भने वा हामीमा दया, सत्यता, तपस्या र पवित्रता छैन भने हामी पशु समान छौँ, जुन अवस्थामा हामीलाई धर्मको उच्चतम अवस्थाको प्राप्ति असम्भवः प्राय हुन जान्छ । अन्तमा श्रीमद् भगवद गीतामा स्वधर्म नै सबैभन्दा श्रेयष्कार भएको कुरा यस प्रकार प्रष्ट पारिएको छ ः
श्रेयान् स्वधर्मो विगुण ः परधर्मात् स्वनुष्ठितात् ः
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।३५।।
अरुलाई तोकिएको कर्म (पर धर्म), राम्रोसँग सम्पन्न गर्नुभन्दा त्रुटिपूर्ण ढङ्गले नै भएपनि आफूलाई तोकिएको कर्तव्य (स्वधर्म) गर्नु नै श्रेयस्कर छ । परधर्ममा लाग्नु भन्दा बरु स्वधर्ममा रहेर मर्नु वेश हुन्छ किन भने परधर्ममा लाग्नु नै भयावह हो ।
YOUR COMMENTS