धर्म २ ; स्वरुप परिचय

       
  

कुनै पनि वस्तुको अस्तित्वसँगै स्वप्रकट स्वरूप द्रष्टाउने गुण नै धर्म भएको कुरा यसअघि नै व्याख्या गरियो । अव हाम्रो स्वरूप द्रष्टाउने गुण के हो त ? हाम्रो स्वरूप वा हाम्रो अस्तित्व कुन गुणका कारण अस्तित्वमा छ त ? यस विषयमा प्रवेश गर्नु अगाडि हामी को हौँ अथवा के हौँ ? भन्ने कुरा बुझ्न आवश्यक छ । जवसम्म हामीलाई हाम्रो आफ्नो विषयमा जानकारी हुँदैन तवसम्म हाम्रो धर्म के हो त भन्ने विषय पनि ज्ञान हुँदैन । किनभने कुनै वस्तुको स्वभाविक प्राकृतिक स्वरूपको विषयमा ज्ञान हुन पहिले विषय वस्तुको ज्ञान हुनु नितान्त जरुरी छ । उदाहरणका लागि जसले आगो चिन्दछ उसले आगोको स्वभाविक गुण पोल्नु हो भन्ने पनि जान्दछ । यदि आगोको बारेमा कुनै ज्ञान नै छैन भने आगोको गुणको विषयमा बुझ्ने कुरै आउँदैन । त्यसै कारण सर्वप्रथम ‘म को हुँ ?’ यस प्रश्न धर्म विषयको प्रवेशद्वारा हो । धर्मको विषयमा चर्चा गर्नु अगाडि यस विषयमा चर्चा गर्नु अत्यावश्यक छ ।
वैदिक शास्त्रमा उल्लेख गरीएको छः
“न वै वाचो न चक्षुंषि न श्रोत्राणि न मनांसीत्याचक्षते प्राण
इति एवाचक्षते प्रणो हयवैतानि सर्वाणि भवन्ति ।।”
(छन्दोग्य उपनिषद ५।१।१५)
“जीवको शरीरमा वाक शक्ति, दृष्टि, श्रवण वा विचार शक्ति प्रमुख तत्व हैनन् । सम्पूर्ण शक्ति वा कार्यको केन्द्र त जीवन शक्ति हो । त्यो जीवन शक्ति प्रमुख तत्व हो ।”
यस उद्गारबाट के बुझ्न सकिन्छ भने हाम्रो वास्तविक परिचय यो दृष्यमान भौतिक शरीर हैन । यो शरीर त परिवर्तनशील छ । जन्मदेखि मृत्यु पर्यत्न हाम्रो शरीर परिवर्नत भइनै रहन्छ । अव यदि यो परिवर्तनशील शरीरलाई चलाउने चेतन तत्व हाम्रो परिचयले भने यो शरीर सम्बन्ध के हो त ?
कठोपनिषद् १.३.३. र ४ मा यस विषयलाई खुलस्त पारिएको छ ।
आत्मानं रथिनं विद्धि शरीरं रथमेव च
बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च
इन्द्रियाणि ह्यान्याहुर्विषयांस्तेषु गोचरान्
आत्मेन्द्रियमनोयुक्तं भोक्तेत्याहुर्मनीषिर्ण ः ।।
प्रत्येक व्यक्ति इन्द्रिय रुपि घोडा नारियको यस शरीर रूपी रथमा बुद्धिको सारथिद्वारा मनरुपि लगाम समातेर मन तथा इन्द्रियको संगतिमा रहेर जीवात्माले सुख वा दुःख भोग गर्दछ । यस्तो यस विषयका ज्ञाता चिन्तकहरूको मत रहेको छ ।
यस श्लोकमा स्पष्ट रूपमा शरीरलाई रथ र त्यो चेतनतत्वलाई आत्मा भनेर सम्बोधन गरिएको छ । आँखा, नाक, जिव्रो, कान आदि यसमा नारिएको घोडा हुन् । जसले जीवलाई यताउता आकृष्ट गर्दछन् वा तान्दछन्, अनि बुद्धि अनुकुल वा प्रतिकूल विचार गर्ने सारथी हो भने मनले लगामको काम गर्दछ ।
यसैगरि श्रीमद्भागवत १०.८४.१३ मा बताइएको छ ः
यस्यात्मबुद्धि ः कुपापे क्रिधातुके………..स एवं गोखर ः
जो व्यक्ति यो त्रिधातुले (वात, पित्त, कफ) द्वारा निर्मल शरीरलाई नै आत्म (स्वयं) हो भन्दछ त्यस्तो व्यक्ति गोरु र गधा समान ठान्नुपर्दछ ।
शरीरलाई हामी हाम्रो भनि बताउँछौ । म शरीर भनि कतै पनि परिचय दिँदैनौँ । शरीरलाई मेरो÷हाम्रो भनि हक दावि गर्ने त्यो चेतन तत्व नै वास्तवमा हाम्रो परिचय भएको कुरा केवल शास्त्रीय प्रमाणका आधारमा मात्र नभई हाम्रो दैनिक व्यवहारिक बोलिचालीबाट पनि स्वतः सिद्ध हुन्छ । मृत लास र जीवित व्यक्ति बीचको फरक नै हाम्रो परिचय शरीरभन्दा भिन्न हुनुको प्रमाण हो । शरीर त्यही नै भएपनि त्यो जीवतत्व शरीर भित्र भइन्जेल आगो छुँदा पोल्थ्यो तर जतै त्यस तत्वले शरीरको त्याग ग¥यो तव सारा शरीर अग्निले खरानी बनाउँदा पनि कुनै प्रतिक्रिया हुँदैन । शरीर एउटै हो तर जस्तै मानिसबाट परिचय फेरिएर शवमा परिणत भयो त्यस्तै शारीरिक प्रतिक्रिया पनि लुप्त भयो । यसैबाट शरीर हाम्रो वास्तविक परिचय हैन भन्ने कुरा प्रमाणित हुन्छ ।
उसो भए शरीरको कुन स्थानमा हाम्रो परिचय लुकेको हुन्छ । त्यसको स्वरूप कस्तो हुन्छ ? विभिन्न शास्त्रीय प्रमाणहरूलाई हेर्दा आत्मा अथवा चेतन तत्व जो हाम्रो वास्तविक परिचय हो त्यो तत्व जीवको हृदयमा रहेको कुरा बुझ्न सकिन्छ ।
एषोक्णुरात्मा चेतसा वेदितव्यो यस्मिन्प्राणः पञ्चधा संविवेश
प्राणैश्चित्तं सर्वमोतं प्रजानां यस्मिन् विशुद्धे विभवत्येष आत्म ।
(मुण्डक उपनिषद ३.१.९)
“आत्म आकारमा परमाणु तूल्य छ । यसलाई परिपूर्ण बृद्धिले मात्र जान्न सकिन्छ यो आत्मा प्राण, अपान, व्यान, समान तथा उदान यी पाँच प्रकारका वायुहरूमा तैरिरहेको हुन्छ । यो हृदयभित्र स्थित रहेर देहधारी (शरीरधारी) को पूरा शरीरमा आफ्नो प्रभावको विस्तार गर्दछ । यी पाँच प्रकारको वायुको कलमषबाट शुद्ध भएपछि मात्र आत्माको अध्यात्मिक प्रभाव प्रदर्शित हुन्छ ।”
अणोरणीयान्महतो महीयानात्मास्य जन्तोर्निहिता गुहयाम्
तमक्रतु ः पश्यति बीतशोको धातुःप्रसादान्महिमानमात्मनः “परमात्मा तथा अणुआत्म दुवै शरीर रूपी वृक्षमा जीवको हृदय स्थानमा विद्यामान हुन्छन् र जो व्यक्ति समस्त इच्छाहरू तथा शोकबाट मुक्त भइसकेका छन्, तिनले भगवद्कृपा बस आत्माको महिमा बुझ्न सक्दछन्”।
यो आत्मा कत्रो हुन्छ त भन्ने सम्बन्धमा विभिन्न वैदिक प्रमाणिक स्रोतहरूमा व्याख्या गरिएको पाइन्छ ।
बालाग्रशतभागस्य शतधा कल्पितस्य च ।
भागो जीवः स विज्ञेयः इति चाह परा श्रुतिः ।।
(श्वेताश्वतर उपनिषद् ५.९)
एउटा कपालको अग्र भागलाई सय भागमा बाँडेर पुन एक भागको सय भाग गराउँदा आउने भाग आत्माको आकार समान हुन्छ ।
केशाग्रशतभागस्य शतांश ः सादृशात्मक
जीव ः सुक्ष्मस्वरूपोक्यं संख्यातीतो हि चित्कणः ।।
आत्मरूपी परमाणुका अनन्त कणहरू छन्, जसको आकार कपालको टुप्पाको दशहजार भागको एक भाग जत्रो हुन्छ ।
यो केवल चेतन तत्व रुपि परमाणु स्वरूप आत्मा नै भौतिक शरीरको मूल आधार हो । कुनै वस्तुलाई सजीव वा निर्जीव छुट्याउने आधार नै आत्मा हो । आत्मा प्रविष्ट भएको वस्तुलाई सजीव भनिन्छ भने जहाँ आत्मा प्रविष्ट छैन त्यो निर्जीव हो ।
श्रवणयापि बहुभिर्यो न लभ्यः श्रृण्वन्तोक्पि बहवोे यम् न विद्युः
आश्चर्यो वक्ता कुशलोक्स्य लब्धा आश्चर्योक्स्य ज्ञाता कुशलनुशिष्ट ः ।।
(कठो पनिषद् १.२.७)
वडो आश्चर्यको कुरा छ यो परमाणु समान सुक्ष्म आत्मा विशालकाय पशुदेखि वरवृक्ष हुँदै अति सुक्ष्म किटाणुभित्र पनि विद्यमान छ । वस्तुहरूको स्थुल भौतिक धारणाबाट प्रभावित भएका मानिसहरूले कसरी यति सानो केवल चेतना स्वरूप आत्मा त्यति ठूलो र त्यति सुक्ष्म हुन सक्छ भनेर कल्पना नै गर्न सक्दैनन् । त्यस्ता व्यक्तिहरूलाई यस आश्चर्य सम्बन्धमा स्वयं व्रम्हालाई ज्ञान दान गर्न सक्ने महाज्ञानी नै आएर सम्झाएर पनि बुझ्न चहाँदैनन् ।
यस विषयलाई सर्व उपनिषद् सार गितोपनिषद् ( श्रीमद्भगवद् गीता) २.२९ मा यस प्रकार बताइएको छ ।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः शृणोति श्रृत्वाप्येनं वेद न चैव कश्चित् ।।
यो आत्मालाई कसैले आश्चर्यको रूपमा हेर्दछन् । कसैले आश्चर्यकै रूपमा यसका बारेमा सुन्दछन् तर कोहि यसका बारेमा सुनेर पनि केही बुझ्न सक्दैनन् ।
वास्तवमा यसमा कुनै आश्चर्य मान्नुपर्ने कुरै छैन । हामी जड्वत् अवस्थामा भएका कारण हामीलाई हरेक वस्तु जड् रूपमै बुझ्ने बानी परेको छ । यसकार आत्मा जड्ता भन्दा पर रहेकाले यसलाई हामी आश्चर्यका रूपमा हेर्ने गर्दछौँ ।
अतः यी यावत उदाहरण तथा चिन्तनद्वारा हाम्रो परिचय यो परिवर्तनशील शरीर (जो विभिन्न प्रकारकाः जन्म, मृत्यु, बालक अवस्था, पौगण्ढ अवस्था, युवा अवस्था, वृद्ध अवस्था आदिको चक्रमा फसेको छ) वा यही शरीरका कारण प्राप्त पदवी, नाम, सम्बन्धी आदि हैनन् भन्ने कुरा चिन्तनशील वा विवेकयुक्त व्यक्तिहरूका लागि स्वतः जान्ने बुझ्ने विषय हो । यस विषयमा थप कुनै तर्क वितर्क भन्दा पनि चिन्तन तथा साक्षत्कारको आवश्यकता बढ्ता रहेको छ । जो व्यक्तिले शास्त्रीय मतको चिन्तन गर्दै स्वयं भित्र दृष्टिपात गरी आफूलाई चिन्ने प्रयास गर्दछ तिनका लागि केवल मार्गदर्शन गर्ने बाटो वा प्रोत्साहन गर्ने विषयको रूपमा तर्क– वितर्कलाई लिन सकिन्छ । केवल मतवाद स्थापनाका लागि तर्कको प्रयोग यस विषयमा गर्नु केवल शब्द, समय र श्रमको दुरूपयोग मात्र हुन जान्छ किन भने अकाट्य तर्किक् व्यवहारिक तथा शास्त्रीय प्रमाणहरू यस विषयलाई पुष्टि गर्नका लागि हाम्रो वरिपरीको वातावरण, समाज तथा व्यक्तिगत जीवनमा पर्याप्त मात्रामा हामीले देख्दै, भोग्दै, सुन्दै वा पढ्दै आएका छौँ ।

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

 

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store