‘धर्म’ आजको विश्वमा नै सायद सबैभन्दा ज्यादा प्रयोगमा आउने शब्द होला । अझ नेपालको परिवेशमा कुरा गर्नु पर्दा त यो शब्द प्रत्येक जनजिब्रोमा हरेक विषयसँग जोडिएर आउँछ नै । चाहे प्रसंग राजनैतिक होस्, सामाजिक होस् अथवा पारिवारिक र व्यक्तिगत नै किन नहोस् अर्थ र आयामसँग परिचित नभए पनि ‘धर्म’ यो शब्दसँग भने हामी पूर्ण रूपमा परिचित छौँ । सतहि रूपमा नै भएपनि धर्मको अर्थ–कूअर्थ, धर्मकै नाममा वाद–प्रतिवाद, धर्मकै नाममा आफ्नो–पराया आदिमा राष्ट्रदेखि समाज र परिवार हुँदै व्यक्तिसम्म विभक्त भएका छन् । शब्द ‘धर्म’ जति सरल छ त्यति नै जटिल छ प्रश्न “धर्मको अर्थ के हो ?” “धर्म भनेर केलाई भन्ने ?” “धर्म कति छन् ?” आदि आदि । र ‘धर्म’ को नाममा विभक्त समाज, ‘धर्म’ को संरक्षक ठान्नेहरू, धर्मका व्याख्या गर्नेहरूदेखि समाजमा बसेर धर्मको मर्यादा पालन गर्ने तथा धर्मकै ढोङ्ग पिटिराख्नेहरुसम्म, के ती स्वयं पनि यो प्रश्नको उत्तरका बारेमा जानकार छन् त ? सोचनीय पाटो छ कि धर्ममा शान्तिको खोजी गर्नेदेखि धर्मका लागि धर्म युद्धको उद्घोष गर्नेसम्म सबैलाई धर्मको कुन अर्थ वा व्याख्याले प्रेरित गर्दै छ त ? वास्तवमा धर्मको अर्थ के हो त ? धर्मको अर्थ बुझ्नका लागि सर्वप्रथम यसको शाब्दिक संरचना र शब्दार्थ बुझ्न अति नै जरुरी छ । ‘धृ’ धातुबाट धर्म भन्ने शब्दको उत्पत्ति हुन्छ जसको अर्थ ‘धारण गरिएको’ भन्ने बुझिन्छ । ‘शास्त्रमा बताइए अनुसार ‘धारयति इति धर्म’, जस अनुसार धर्म भनेको धारण गर्न÷गरिएको वा कायम गरिएको भन्ने बुझिन्छ । ‘धर्म’ ले धार्य वस्तु तथा धारणा गर्ने शक्ति दुबैलाई बुझाउँछ । सरल रूपमा भन्दा ‘धर्म’ भन्नाले ‘मार्ग’ र ‘उद्देश्य’ अथवा साधन र साध्य दुबै अवस्थालाई जनाउँछ । यस अर्थलाई मनन गर्दा स्पष्ट रूपमा के बुझ्न सकिन्छ भने धर्म भनेको कुनै निश्चित समयमा त्यहाँको परिवेश–वातावरण अथवा निश्चित श्रद्धा–मतको आधारमा सुरु भएको गुटबन्दिको शिलशिला होइन । यो त नित्य छ । सनातन छ । धर्मले गर्दा नै ब्रम्हाण्ड आफ्नो स्थानमा कायम छ । जहाँ धर्मको अस्तित्व छ त्यहाँ सद्भाव छ, व्यक्तिगत–सामाजिक देखि ब्राह्मण्डीय तत्वसम्म पूर्ण सन्तुलनमा छ । सो धर्मको पालनले सबको अपेक्षा बमोजिम सद्भाव र आन्तरिक तथा बाह्य सुख शान्तिको वाताबरण पैदा हुन्छ । तर जहाँ सो धर्मको पालन हुदैन त्यस अवस्थामा सद्भाव बिथोलिन गई असन्तुलन कायम हुन जान्छ । व्यक्तिगत वा सामाजिक रूपमा भन्नुपर्दा धर्म विमुख हुँदै जाँदा पारस्पारिक सम्बन्ध र आपसि सहकार्यमा गिरावट भई सबैजना अन्त्यहीन झै–झगडा र कलहको दलदलमा फस्न पुग्दछन् । यस्तो अवस्थाको प्रतिफल प्रायः प्राकृतिक, आर्थिक, मनोवैज्ञानिक स्रोत साधनको असमान तथा भेदभावपूर्ण वितरण जस्तै कोहि स्थानमा कुपोषणका कारण मृत्यु हुँदै छ भने कतै खाद्य स्रोत खेर गहिरहेको छ, अथवा कपटता पूर्वक माग र वितरणको व्यवस्थालाई आफूअनुकूल हेरफेर वा परिचालन गरी समाज भद्रगोलताको अवस्थामा पुग्दछ । जहाँ धर्मको पालन हुन्छ त्यहाँ सद्भाव र शान्ति हुन्छ भने, जहाँ धर्मका नियमकोे पालन हुँदैन त्यस्तो ठाउँमा सधैँ कलह र द्धन्दको सृजना हुन्छ । वास्तवमा भन्नु पर्दा संसारमा जति पनि अलमल, तनाव, बेथिति, असन्तुलन आदि देखिन्छ यो नै अधर्मको प्रतीक हो । यस्तो अवस्था भनेको हाम्रो प्रतिकुलताको अवस्था हो । यसर्थ धर्म निरपेक्ष वा धर्म भन्दा बाहिर रहनु भनेको हामी स्वयम् आफू आफ्नै प्रतिकूलमा हिँड्नु हो ।
संसारमा हरेक वस्तुको सार र अस्तित्व धर्मसँग रहेको हुन्छ । धर्मले नै कुनै वस्तुको अस्तित्व बोध गराउँछ । साधारणतया उदाहरणको रूपमा सूर्यलाई लिन सक्दछौँ । शब्द सूर्य वा वस्तु सूर्य भन्नाले हामीले ताप र प्रकाशको स्रोत बुझ्दछौँ । सूर्य शब्द सँगसँगै हाम्रो मस्तिष्कमा ताप र प्रकाश स्वतः आउँछ । अर्थात यदी ताप र प्रकाश दुबैबाट सूर्यलाई विमुख गर्ने हो भने सूर्य नामको वस्तुको अस्तित्व नै निमेट हुन्छ । त्यसैगरि यदी पानीबाट तरलता र तिर्खा मेटाउने त्यसको स्वभाविक गुण जो हुन्छ त्यसलाई हटाउने हो भने पानी पानी रहँदैन । आगोबाट प्रकाश र पोल्ने शक्ति दुवैलाई झिक्ने हो भने अब त्यस वस्तुलाई आगो नभनि कोइला वा ठूटो भनि चिन्दछौँ । अर्थात् कुनै पनि वस्तुको स्वभाविक प्राकृतिक गुण जो अस्तित्वको कारक हो, वैदिक शास्त्रले त्यही वस्तुलाई धर्म भनि व्याख्या गरेका छन् । जसरी सूर्य, पानी वा आगोबाट यसको धर्मलाई परिवर्तन गर्न वा धर्म विमुख गर्न खोज्यो भने यसको अस्तित्व नै मेटिन्छ । त्यसै गरी सृष्टिको हरेक वस्तुले आफ्नो अस्तित्वसँगै धर्म लिएर आएको हुन्छ वा धर्मको कारण नै उसको अस्तित्व सम्भव हुन्छ । जो अपरिवर्तनिय हुन्छ अस्तित्वसँग जोडिएको हुन्छ र त्यस विषयबाट निरपेक्ष रहन असम्भव हुन्छ । धर्म स्वरूप र अस्तित्वसँग सम्बन्धित हुन्छ । व्यक्तिको विचार, मन, श्रद्धावादसँग होइन । कुनै पनि वस्तुको स्वरूप र अस्तित्वको बोध गराउने प्राकृतिक स्वभाविक गुण नै त्यस वस्तुको वास्तविक धर्म भएको कुरा वैदिक विज्ञानले सिद्ध गरेको छ ।
YOUR COMMENTS